बिराटनगर, कात्तिक १ । नेकपा माओवादी केन्द्रले कोशी सरकारलाई बिश्वासको मत दिएको भन्दै सरकारमा सहभागी गराउन मुख्यमन्त्रीसामू बिन्तपत्र हालेको छ ।
मुख्यमन्त्री एमालेले बनाएको भए पनि आफूहरु सत्ता गठबन्धनमै रहेको र बिश्वासको मत पनि दिएको भन्दै माओवादीले सरकारमा सामेल गर्न माग गरेको हो । कोशीका मुख्यमन्त्री केदार कार्कीले आज प्रदेशसभामा बिश्वासको मत लिँदा माओवादीले पक्षमा पदान गरेको थियो ।
बिश्वासको मत दिएलगत्तै कार्कीसँग मुख्यमन्त्री दावी गर्नुभएका माओवादी संसदीय दलका नेता इन्द्र आङबोले अव कोशी सरकारमा माओवादीलाई सामेल गर्नुपर्ने बताउनु भयो । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले प्रदेशमा आफूहरु सहित सहमतिको सरकार बन्ने बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता आङ्बोले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास हुने बताउनु भयो । ‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ’ आङबोले भन्नुभयो ।
मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साथै गठबन्धनमा नरहेको नेकपा एमालेले पनि विश्वासको मत दिएको छ ।
मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा नेकपा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई सहभागी गराउनु भएको छ भने अझै ६ जना मन्त्री चयन बाँकी छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताले कोशीमा एमालेबाहेकको सरकार बनाउने अभिव्यक्ति दिइरहेका बेला कोशीका माओवादी नेताले एमालेसहितको सरकार बनाउने प्रस्ताव राखेका हुन ।
यसअघि प्रदेशसभामा बोल्दै माओवादी सांसदले पनि आफूहरुको त्यागलाई नजरअन्दाज नगर्न भन्दै भोट हाल्ने तर सरकारमा सहभागी गराउनु पर्ने माग गर्नुभएको थियो । माओवादी केन्द्र कोशी प्रदेशका सांसद दुर्गाप्रसाद चपागाईंले आफूहरूको त्यागलाई नजरअन्दाज नगर्न मुख्यमन्त्री केदार कार्कीलाई आग्रह गर्नुभएको थियो ।
‘हामीले एमालेसँग सरकार बनाए पनि छाड्यौं। सभामुख पनि छाड्यौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो त्यो त्यागलाई नजरअन्दाज नगरियोस् भनेर मुख्यमन्त्रीलाई स्मरण गराउन चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस्