काठमाडौं, कात्तिक ५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित बनेको छ । ११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएपछि पराजित समुहले समानान्तर कार्यसमिति घोषणा गरेको छ ।
अध्यक्षमा पराजित उम्मेदवार आरके शर्माको नेतृत्वमा अर्को समिति बनाइएको हो । असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको भन्दै विज्ञप्ति जारी गरिएको छ ।
‘महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो’, विज्ञप्तिमा भनिएको छ ।
२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको विज्ञप्तिमा उल्लेख छ । उपाध्यक्षमा डा।केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ (रोविन) चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको छ । त्यस्तै महासचिबमा बुद्धि सागर सुवेदी सर्वसम्मत रुपले चयन हुनुभएको छ ।
उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला चयन हुनुभएको छ भने सचिबमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टन्क गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन गरिएको छ । महिला सचिव बिमला सापकोटा चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन गरिएको छ ।
यता महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणी सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ । त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ । सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
यसैगरी बन्द सत्रले डी बी क्षेत्रीको अध्यक्षतामा आनन्द बिष्ट, डा बलराम श्रेष्ठ, ओम शर्मा, बेद खरेल रहेको एक अध्यक्ष मण्डल गठन गरेको छ। त्यस्तै दुर्गा आचार्यको संयोजकत्वमा विश्व बराल, नारायण थापा, शनि ओली, बिष्णु सुवेदी र पुष्प थापा सदस्य रहेको निर्वाचन समिति पनि गठन गरेको छ। बन्द सत्रले महासचिव डा केशव पौडेल, कोषाध्यक्षहरु सुनील साह, लोक दाहाल तथा विधान समितिका सचिव गंगाधर गौतमले पेश गरेका प्रतिवेदन हरु पारित गरेको थियो।
निर्वाचन समितिका संयोजक दुर्गा आचार्यले सबै नव निर्वाचित पदाधिकारीहरुलाई विधान बमोजिम शपथ दिलाएका थिए। बन्द सत्रको अध्यक्षता अध्यक्षद्वय कुल आचार्य तथा रबिना थापाले गरेका थिए।













प्रतिक्रिया दिनुहोस्