काठमाडौं, कात्तिक १० । दशैँ मनाउन काठमाण्डौ उपत्यका बाहिर गएकाहरू फर्कन थालेपछि काठमाण्डौ भित्रिने नाकामा भीड देखिन थालेको छ ।
उपत्यका भित्रिने नाकामा गाडीको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।नागढुङ्गा, साँगा नाकामा गाडीको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । दशैँको नवमी र दशमीका दिन काठमाण्डौ उपत्यकामा यातायात शून्यजस्तै बनेका थिए ।
नाकामा गाडीको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । यस वर्ष दशैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने गाडीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक गाडी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ । यसैबीच दशैँ बिदामा बन्द भएका सरकारी कार्यालय आज शुक्रवारदेखि खुल्दैछ ।













प्रतिक्रिया दिनुहोस्