काठमाडौं, कात्तिक १४ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो ।
मंगलबार बिहान जारी सर्कुलर अनुसार माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्नेछ । सरकारमा बसेर राज्यका नीतिहरु कार्यान्वयन गर्नुपर्नेमा माओवादी केन्द्रले प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको हो ।
दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।
अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको ६ बुँदे सर्कुलरमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्ने निर्णय भएको उल्लेख छ ।
‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जबस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा भनिएको छ ।
माओवादीले पहिलो चरणमा काठमाडौंमा संघर्षको कार्यक्रम घोषणा गरिएको र त्यसपछि प्रदेश, जिल्ला र पालिका तहसम्म पुग्ने जनाएको छ ।
माओवादीले विदेशी शक्तिसमेत परिवर्तन उल्ट्याउन सक्रिय भएको विश्लेषण गरेको छ । तर ती शक्ति को हुन भन्नेबारे सर्कुलरमा प्रष्ट गरिएको छैन ।
सरकारले उपलब्धि उल्ट्याउने षड्यन्त्रलाई कसरी चिर्नेछ भन्नेबारे प्रधानमन्त्री तथा गृहमन्त्री भएको पार्टीले कुनै सूचना वा धारणा दिएको छैन । आफै सरकारको नेतृत्व गरेर सडक आन्दोलन घोषणा गरी माओवादीले जनतालाई उल्लु बनाउने नीति लिएको सर्कुलरले देखाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समय अघि लाखौं जनता सडकमा उतार्ने घोषणा गर्नुभएको थियो । प्रचण्डको सोही घोषणा पूरा गर्न माओवादीले निर्णय गरेर सडक संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्