जनता टाइम्स

१५ कार्तिक २०८०, बुधबार १५:४०

बोडिङ्ग स्कूल सञ्चालक रुपेश सर्राफको हत्यामा संलग्न ५ जना सार्वजनिक, गोली हान्न पेशेबर सुटर प्रयोग


बारा, कात्तिक १५ । बाराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कूलका सञ्चालक रुपेश सर्राफको हत्यामा प्रत्यक्ष संलग्न आठ जनामध्ये पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

कलैया भरतचोक नजिकै सोमबार दिउँसो भएको विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बारा प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

मुख्य अभियुक्त एवं योजनाकार मनोज गुप्ता भने भारतमा फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक काफलेका अनुसार सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण हुन पुगेको देखिएको छ ।

सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ । काफेलेका अनुसार यो घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ । त्यसमध्येका पाँच जना पक्राउ परेका छन् । बाँकीको खोजतलास भइरहेको छ ।