जनता टाइम्स

१५ कार्तिक २०८०, बुधबार १८:१६

मानव अधिकार आयोगको तह घटुवा प्रस्ताव अस्वीकृत, ए श्रेणीमै कायम रहने गानरीको निर्णय


काठमाडौं, कात्तिक १५ । राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम रहेको छ । मानव अधिकार आयोगहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले गठन गरेको एक समितिले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो ।

गानरीको सब कमिटी अन एक्रिडिएसन (एसएसी) ले मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए । एसएसीले मानव अधिकार आयोगले आयोगसम्बन्धी ऐन निर्माणका क्रममा पदाधिकारी नियुक्ति पेरिस सिद्धान्तकै आधारमा गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरेको छ ।

मानव अधिकार आयोगका पदाधिकारीहरुको नियुक्ति विवादास्पद भएको भन्दै नेपालबाट नागरिक समाजको एक टोलीले आयोगलाई बी श्रेणीमा राख्न गानरीमा सिफारिस गरेका थिए ।

तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आयोगका अध्यक्षसहित पदाधिकारी नियुक्ति हुँदा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई ५ सदस्यीय परिषदका ३ सदस्य मात्र उपस्थित भएर निर्णय गरिएको थियो । यस्तै संसदीय सुनुवाइ पनि नभई नियुक्ति भएको थियो । सोही बिषयलाई लिएर केही मानव अधिकारवादीले तह घटुवाको सिफारिश गरेका थिए ।