काठमाडौं, कात्तिक १६ । तरुण दलका नेता योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले आज निर्णय सुनाउने भएको छ ।
बुधबार सुनुवाई सकिएपछि आज निर्णय सुनाउने सर्वोच्च अदालतले जनाएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने जानकारी दिएको हो।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए। ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती श्रेष्ठले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्णइजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ निर्धारण भएको थियो।













प्रतिक्रिया दिनुहोस्