जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार ११:३९

सहसचिवद्वय अर्याल र पुडासैनी सचिवमा बढुवा


काठमाडौं, कात्तिक १६ । सहसचिवद्वय राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सहसचिवद्वय अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

अर्याल प्रशासनतर्फ र पुडासैनी प्राविधिक सेवातर्फ सचिवमा बढुवा हुनुभएको हो । प्रशासन सेवातर्फ एक जना र प्राविधिक सेवातर्फ एक जना गरेर रिक्त रहेको दुई सचिव पदमा बढुवाका लागि चार जना सहसचिवको नाम सिफारिस भएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक जनाका लागि तीन जना र प्राविधिकतर्फ एक जनाका लागि एक सहसचिवको नाम सिफारिस गरेको थियो ।

बढुवा सिफारिस समितिका अनुसार प्रशासन सेवातर्फ रिक्त एक सचिवका लागि सहसचिव राधिका अर्याल, चूडामणि पौडेल र डा.हरिप्रसाद लम्सालको नाम सिफारिस भएको थियो भने प्राविधिक सेवातर्फ ज्येष्ठताका आधारमा सहसचिव विश्वबाबु पुडासैनीको नाम मात्रै सिफारिस भएको थियो ।

प्रशासन सेवातर्फ पहिलो नम्बरमा सिफारिस भई सचिव बढुवा हुनुभएकी सहसचिव अर्याल लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कायम मुकायम प्रमुख सचिवको जिम्मेवारीमा हुनुहुन्छ । पुडासैनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।