जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १९:३८

जनयुद्ध दिवसलाई उत्सव मानेर शान्ति प्रक्रिया टुंग्याउन सकिन्न : केपी ओली


काठमाडौं, कात्तिक १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन नसकिने प्रष्ट बटमलाइन सुनाउनु भएको छ ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले हिंसा थालेको दिन उत्सवको रुपमा मनाउन नसकिने प्रष्ट पार्नुभएको हो । ‘हिंसाको बाटोतिर लागेको जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन सकिदैन, यो हाम्रो प्रष्ट बटमलाइन हो,’ दलको बैठकमा अध्यक्ष ओलीले भन्नुभयो उहाँले हिंसालाई उत्सव मान्नेहरु समाजका लागि खतरा रहेको पनि बताउनु भयो ।

‘हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउन, त्यो एउटा नेपालले भोगेको दुष्चक्र हिंसाको जसलाई हामीले हिंसाको अन्त्य, वृहत शान्ति सम्झौताबाट समाप्त पारेका थियौं । त्यसकै महिमा हुन थालेको छ । त्यसको जयगान गर्न थालिएको छ,’ अध्यक्ष ओलीले थप्नुभयो, ‘हिजो अनावश्यक ढंगले मान्छे मारिए, त्यत्रो लुटपाट भयो, त्यसले देशको अर्थतन्त्र र जनजीवनमा पारेको समाजमा पारेको भयावह अवस्थाप्रति कुनै चिन्ता छैन । बरु त्यसप्रति गौरवभाव छ । त्यो मनाउनुपर्छ भन्दैछन । यस दृष्टिकोण र मनोदशाले शान्तिप्रक्रिया कसरी सफल होला ?’

उहाँले पीडितलाई केन्द्रमा राखेर न्याय दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताउनु भयो । ‘पीडितलाई केन्द्रमा राखेर कानूनहरु पनि बन्नुपर्छ,’ ओलीले भन्नुभयो, ‘त्यत्रो पीडा भोगेर आए, अझै पनि पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिणत भइसकेकाहरुलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न सकिँदैन । मिल्दैन, पीडितलाई न्याय दिनेगरी गर्नुपर्छ ।’ अध्यक्ष ओलीले सरकारले संबिधान र कानून मिचेको कारण सर्वाेच्चले रिगललाई पुनः कारागार पठाउनु परेको पनि बताउनु भयो ।