जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १२:१८

बिमानस्थलमै युनिफर्ममा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित


काठमाडौं, कात्तिक १७ । रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबीच युनिफर्ममै कुटाकट भएपछि दुवैको लाइसेन्स निलम्बन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुवै पाइलटको उडान अनुमति पत्र निलम्बन गरेको हो ।

प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बनमा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ । आज बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको थियो ।

बिहान ८ बजे लुक्लाबाट आएको जहाजका क्याप्टेन सन्तोष साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच झगडा परेको हो । प्राधिकरणका अनुसार दुवै जना क्याप्टेनको ड्युटी अदलीबदलीको समय थियो । क्याप्टेन साह विमानस्थल भवनतर्फ आउँदै गर्दा अर्का क्याप्टेन श्रेष्ठ जहाजतर्फ जाँदै थिए ।

सन्तोष साहले हात मिलाउन खोज्दा सञ्जीवले धकेलेको प्राधिकरणको भनाई छ । उनी लडेपछि दुई जनाले हानाहान गरेको बताइएको छ । क्याप्टेन सञ्जीव जहाज लिएर लुक्ला पुगेका छन । उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ । घटनापछि क्याप्टेन साहलाई सिन रामेछापमै ग्राउन्डेड गरिएको छ ।