जाजरकोट, कात्तिक १८ । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ । भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ । यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन । यसमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।
भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।














प्रतिक्रिया दिनुहोस्