जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार ०८:२२

भूकपीडितको उद्धारमा जुट्न अध्यक्ष ओलीसहित एमाले शीर्ष नेताको अपिल


काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पिडितहरुको उद्धार र राहातमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।

आज बिहानै सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले दुखको यस घडीमा पिडितहरुले धैर्य गर्ने र बाहिरकाले सहयोग गर्नुपर्ने समय भएको बताउनुभएको छ । उहाँले यस्तो समयमा घाइतेको उपचारमा तत्काल स्वास्थ्यकर्मीको खाँचो हुने औल्याउनु भएको छ । अध्यक्ष ओलीले जाजरकोट र रुकुमका नेताहरुसँग पनि भूकम्पको क्षतीका बारेमा टेलिफोनमा जानकारी लिएको उल्लेख गर्नुभएको छ ।

यसैगरी एमाले उपाध्यक्ष बिष्णु पौडेलले पनि उद्धार कार्यमा जुटन सवैमा अपिल गर्नुभएको छ । पौडेलले हिजो राती ११ बजेर ४७ मिनट जाँदा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकालाई केन्द्रविन्दु बनाएर गएको ६.४ मेग्निच्यूटको भूकम्पमा परी ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको खबरले गहिरो पिडाबोध भएको जनाउनु भएको छ ।

दुखको यस घडिमा दिवंगतहरूप्रति श्रध्दाञ्जली, परिवारजनमा समवेदना र घाईतेहरूको स्वास्थ्यलाभको कामना गर्दै पौडेलले भन्नुभएको छ, ‘उद्दार, राहत र घाइतेहरूको उपचारमा राज्यको अधिकतम क्षमता परिचालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु । राजनीतिक दल, सामाजिक संघसंस्था र जनस्तरबाटपनि उद्दार र राहतको मानवीय कार्यमा सक्रिय भूमिका निर्वाह गरौं ।’

यसैगरी एमाले महासचिव शंकर पोखरेलले घाइतेको उद्धार र राहतका काम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

पोखरेलले भन्नुभएको छ, ‘जाजरकोट केन्द्रविन्दु भएको भुकम्पका कारणले ठुलो मात्रामा मानविय र भौतिक क्षति भएको छ । यतिवेला प्रभावित क्षेत्रमा मानविय उद्धार र राहतको खाँचो छ । भूकम्पमापरी घाईते भएकाको जिवनरक्षाका लागि यथासिघ्र उद्धार र उपचारमा जुट्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछु । साथै भूकम्पको पराकम्पको जोखिमप्रति सजग रहदै तत्काल उद्धार र राहतको काममा जुट्न अनुरोध गर्दछु ।’