जाजरकोट, कात्तिक १८ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो धनजनको क्षति पुगेको छ । दुवै जिल्लामा गरी १२८ जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं घर–गोठहरु भत्किएका छन ।
भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले मानवीय क्षती अहिलेसम्म नभए पनि भौतिक क्षतीको सीमा नरहेको र बस्न मिल्ने सग्लो घर नरहेको बताउनु भयो ।
आफू विभिन्न वडाहरुमा पुग्दा घरहरुमा व्यापक क्षति पुगेको देखेको गिरीले जानकारी दिए । ‘म भूकम्प गएदेखि नै मोटरसाइकल लिएर वडा–वडामा पुगेर अवस्था बुझिरहेको छु । अहिलेसम्म हाम्रो पालिकामा मानवीय क्षति भएको दुःखद खबर सुन्नुपरेको छैन,’ गिरीले भन्नुभयो, ‘तर सग्ला घरहरु देख्न मुस्किल छ ।’
अहिलेसम्म वडानम्बर १, २, ३ र ९ मा भूकम्पले बढी क्षति पुगेको आफूले देखेको गिरीले बताउनु भयो । गाउँपालिकाको माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क हुन नसक्दा त्यहाँको अवस्था बुझ्न भने बाँकी रहेको उहाँले बताउनु भएको छ । ‘म मोटरसाइकल जान सक्ने प्राय सबै वडा–वडामा पुगिरहेको छु, कतिपयलाई फोन गरेर वस्तुस्थिति बुझिरहेको छु । तर कतिपय ठाउँ, खासगरी माथिल्लो भेगमा सम्पर्क हुन सकिरहेको छैन,’ अध्यक्ष गिरीले जनताटाइम्स डटकमसँग भन्नुभयो ।
उहाँले आफू बस्ने क्वाटर पनि बस्न योग्न नरहेको र एक हजार घर बस्न योग्य नरहेको बताउनु भयो । ‘सवै खुला आकासमुनी बसिरहेका छन । म पनि खुला आकासमुनी नै रहेको छु,’ गिरीले जनताटाइम्स डटकमसँग भन्नुभयो । उहाँले तत्कालै राहत सामग्री आवश्यक रहेको र पीडितहरु खान बस्न समस्या परेको बताउनु भयो ।
उहाँले प्रहरी र स्वास्थ्यकर्मीहरुलाई रातिदेखि नै खोज, उद्धार, राहत र उपचारमा खटाइएको जानकारी पनि दिनुभयो । गएराति ११ बजेर ४८ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित ९२ जनाको मृत्यु भएको छ । सुक्खा पहिरो जाँदा ठाउँ–ठाउँमा सडकहरु अवरुद्ध भएका छन् ।
जाजरकोट भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । दुवै जिल्लामा गरी भूकम्पमा ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्