जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार १३:३३

भूकम्प अपडेट : जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु


जाजरकोट, कात्तिक १८ । शुक्रबार मध्यराती गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या जाजरकोटमा मात्रै ९८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोश रोकाका अनुसार जाजरकोटमा अहिलेसम्म ९८ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन ।

त्यस्तै अहिलेसम्म भूकम्पमा परी ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिनुभयो । उनीहरूमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

यसैगरी भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ भने ८५ जना घाइते भएका छन । उनीहरूमध्ये ७ जनालाई उद्धार गरेर उपचारकालागि सुर्खेत लगिएको छ भने १० जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बाँकी घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पमा परी रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका १४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ छ । तर त्यसमध्ये आठबीसकोट १४ कामात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ ।

अहिले पनि खोज तथा उद्धारको काम जारी छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।