काठमाडौं, कात्तिक १९ । हेलिकोप्टरबाट काठमाडौं ल्याइएका रुकम पश्चिमका घाइतेको अवस्था सामान्य रहेको त्रिबि शिक्षण अस्पतालले जनाएको छ ।
भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनालाई शनिवार रुकुमपश्चिमबाट सिधै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । घाइते नौ जनाकै अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिनुभयो ।
भूकम्पबाट घाइते भएकामध्ये छ महिला, दुई पुरुष र २१ दिनको शिशुलाई थप उपचारका लागि भन्दै शनिबार काठमाडौँ ल्याइएको थियो । पचपन्न वर्षीया मैना ओली, ६२ वर्षीया साबित्री चन्द, २० वर्षीया सुशीला बुढा, २० वर्षीया विमला ओली बुढाथोकी, १२ वर्षीया निरुता पुन, ६३ वर्षीया बाली बुढाथोकी, सीता पाण्डेको २१ दिनको शिशू, एक वर्षीय रिषभ बुढाथोकी र २२ वर्षीय गोपाल बुढाथोकीको उपचार जारी छ ।
शुक्रबार रातिको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ । सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पमा परी जाजरकोटमा एक सय १२, रुकुममा एक सय ३२, जुम्लामा पाँच, दैलेख र बैतडीमा तीनरतीन तथा सल्यान र रोल्पामा एक/एक गरी दुई सय ५७ घाइते भएका छन् ।
पूर्वअर्थमन्त्री एवं रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उहाँहरुलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन दवाव दिनुभएको थियो ।
शर्माको यो शैलीको कडा आलोचना भएको छ । गम्भीर घाइतेको साटो आफन्त र पार्टी नेताका आफन्त रहेकोले सामान्य घाइतेलाई पहुँचको आधारमा ल्याएर उद्धारमा पनि बदमासी गरेको भन्दै शर्माको आलोचना भएको हो । त्रिबि शिक्षण अस्पतालले घाइतेको अवस्था सामान्य बताएपछि शर्मामाथि लागेको आरोप पुष्टि भएको छ ।













प्रतिक्रिया दिनुहोस्