जनता टाइम्स

२४ कार्तिक २०८०, शुक्रबार १०:४८

आफ्नो पीडा लुकाएर भूकम्पपीडितको पीडामा मल्हम लगाउँदै जाजरकोटका पत्रकार


जाजरकोट, कात्तिक २२ । बिनाशकारी भूकम्पका कारण यतिबेला जाजरकोट शोकमग्न छ । यहाँका पीडितहरूको अवस्था के छ भनेर जिल्लाका सञ्चार माध्यमहरूबाट समाचार सम्प्रेषण गर्ने पत्रकार आफ्नो पीडा लुकाउदै स्थलगत रिपोर्टिङ गर्दै आएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका भीमबहादुर सिंह अहिले सासू गुमाएको पीडामा हुनुहुन्छ । सिहंको सासू इन्दिरा शाहको भूकम्पमा परेर मृत्यु भएको छ ।

सिंहको घरको तल्लो तलमा सासूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोले जनाएको छ । शाहलाई बुधवार बिहान मात्र सिंह आफैले घरबाहिर निकाल्नु भएको थियो । उहाँका तीन वटा घर पूर्ण रूपमा क्षति भएको छ । सिंहको परिवार आफन्तको घरमा बसेका छन । लगाएको कपडामै बाहिर निस्के अरू परिवार पनि निस्के तर सासू आमा सुतेको कोठामा पुरिएको सिंहको भनाइ छ । भूकम्प गएको ६ दिनबित्दा समेत क्षती भएको घर उत्खनन नभएको सिंहले बताउनु भयो । घर उत्खनन नहुदा घरभित्रको सामान निकाल्न सकिएको छैन ।

सिंह मात्र होइनन पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य एवं कान्तिपुरका पत्रकार हरिहर सिंह राठौरको घर पनि पूर्ण रूपमा क्षति भएको छ । श्रीमती जगत शाही घरभित्रै च्यापिएको अवस्थामा उद्धार गर्दा घाइते हुनुहुन्छ । उहाँको ढाडमा चोट देखिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार शाहको प्रदेश अस्पताल सुर्खेतमा उपचार जारी छ । कान्तिपूरकर्मी राठौर आफनो पिडा लुकाएर जिल्लाका ग्रामिण क्षेत्रमा नागरिकको पीडा खोज्दै रिपोर्टिङमा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ जाजरकोट शाखा सल्लाहाकार दीपबहादुर घर्तीको पनि घर पूर्ण क्षती भएको छ । घर्ती बस्दै आएको भेरी नगरपालिका ३ को घर पूर्ण क्षती भएसंगै डिजिटल सञ्चार अनलाई बन्द भएको छ । डिजिटल सञ्चारका पूम्पूर्ण सामाग्री क्षतीभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घर्ती भूकम्पपश्चात एकसरो लुगामा प्रभावित क्षेत्रमा हुनुहुन्छ । सल्लाहकार घर्ती यतिबेला त्रिपालको सहारामा बस्दै आउनु भएको छ ।

यस्तै जिल्लाको पहिलो रेडियो खलंगा एफएम पूर्ण क्षती भएको छ । भूकम्पका कारण भेरी नगरपालिका ३ मा रहेको रेडियो बन्द भएको छ । रेडियो सञ्चालनमा रहेको भवन पूर्ण क्षती भएसंगै सञ्चार गृहका सम्पूर्ण सामाग्री क्षतीभएको रेडियो खलंगाका स्टेशन म्यानेजर सरोज वलीले बताउनु भयो । भूकम्प पश्चात रेडियोका सम्पूर्ण प्रशारण समेत बन्द भएको छ ।

रेडियो बन्द भएसंगै कार्यरत पत्रकार त्रिपालको सहारामा बस्दै आएका छन् । यस्तै जिल्लाको भेरीमालिका दैनिकमा कार्यरत मालबहादुर सिंह बस्दै आएको घर पूर्ण क्षतीभएको छ । घर क्षतीभए संगै सम्पूर्ण सामाग्री समेत अहिले घरमा पुरीएको अवस्थामा छ ।

सिंहले प्रयोग गर्दै आएको क्यामरा, ल्याप्टप लगाएत सञ्चार सामाग्रीको अहिलेसम्म खोजि कार्य भएको छैन् । सिंह यतिबेला आफनो पिडा लुकाएर समाचारका लागि प्रभावित क्षेत्रमा छन् । प्रेस सेन्टरका केन्द्रीय सदस्य हेमन्त केसी पनि भुकम्पबाट प्रभावित हुनुहुन्छ । केसीले सञ्चालन गरेको नेपाल पोष्ट खबरको कार्यालय क्षती भएको छ ।

भेरी नगरपालिका ३ नयाँ बस्तीमा रहेको कार्यालय बस्दै आएको घर पूर्ण क्षती हुदा पालको सहारामा बस्दै आएका छन् । केसीको अनलाईन मिडियामा रहेका सम्पूर्ण सामाग्री नष्ट भएको उनको भनाइ छ । यस्तै प्रेस चौतारी नेपालका अध्यक्ष विनोद घर्तीका तीन ओटा घर क्षती भएका छन् । छेडागाड नगरपालिका १० मा घर्तीको घर क्षती भएको छ । घर्ती बस्दै आएको भेरी नगरपालिका ४ घरमा पूर्णरुपमा क्षती हुदा उहाँ सडकमा पालको सहारामा बस्दै आउनु भएको छ ।

‘सदरमुकाम खलंगामा किनेर पठाऊँ भने पाल छैन,’ घर्तीले भन्नुभयो, ‘गाउँमा पुगेका पाल पनि बाँडेका छैनन । पीडा आफ्नै छ तर पनि समाचार खोजी गरेर लेखिरहेको छु ।’ यस्तै भेरीमालिका दैनिकमा कार्यरत सृजना नेपालीको घर पूर्ण क्षती भएको छ । नेपाली बारीमा त्रिपालको सहारामा बस्दै आउनु भएको छ ।

६ बजे देखि पत्रिका बितरण गर्ने नेपाली अहिले पनि भूकम्पको त्रासका कारण बालबालिका छोडेर काम गर्दै आउनु भएको छ । जिल्लाको रेडियो हाम्रो पाईलामा समेत भूकम्पले क्षती गरेको छ । भूकम्पले क्षती संगै रेडियो प्रशारण प्रभावित भएको थियो । नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष समेत रहेका बालकुमार शर्मा पनि यतिबेला प्रभावित क्षेत्रमा हुनुहुन्छ । आफनो भएको क्षतीको पिडा भुलेर उहाँ अरुको पिडा बटुल्दै आउनु भएको छ । भूकम्पले भेरीमालिका दैनिकमा समेत क्षती पुर्याएको छ ।

पत्रिकामा कम्पूटर, मेसिन र भौत्तिक संरचनामा क्षती भएको भेरीमालिका दैनिकका व्यवस्थापक सुरेन्द्र खड्काले बताउनु भयो । जिल्लामा क्रियाशिल पत्रकार सरोज वली, अनलाईनखवरका यज्ञ खत्री, प्रेम बिक, भौतिक मल्ल, लोकेन्द्र बिक, मोहन शाही, कालीबहादुर नेपाली, रेशमबहादुर खड्कालगायतका पत्रकारहरूको घरमा क्षती भएको छ । सदरमुकाम खलंगामा डेरा गर्दै बसेका यहाँका पत्रकारहरूको ल्यापटप, क्यामेरा लगायतका समानहरू क्षती भएका छन ।

दैलेखबाट जाजरकोट पुगेका प्रेस चौतारी ननेपालका केन्द्रीय सचिव एवं कर्णाली इञ्चार्ज बिष्णु शर्मा पत्रकारको अवस्था निकै बेहाल रहेको तर पनि आफ्नो पीडा लुकाएर अरुको सेवामा खटिरहेको बताउनु हुन्छ ।