काठमाडौं, कात्तिक २४ । नेपाली सेनाले उमेरको विषयमा छानबिन सुरु गरेपछि वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजनीमा दिनुभएको छ । पाण्डेले दिएको राजीनामा मन्त्रालयमा आइसकेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
रथी बढुवा हुने प्रक्रियामा रहनु भएका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।
कानुनका उपरथीसहित तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिले छानविन अघि बढाएकै बेला पाण्डेले राजीनामा दिनुभएको हो । बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागिसकेको छैन ।
सैनिक ऐनअनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ । सोहीअनुसार वरिष्ठ उपरथी पाण्डेको बढुवाको प्रक्रियामा सैनिक मुख्यालयले प्रक्रिया थालेको थियो । सैनिक सेवा नियमावलीअनुसार जंगी अड्डाले पाण्डेविरुद्ध ७ दिने उजुरी पनि आह्वान गरेको थियो ।
पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो । उहाँको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएका छन । पाण्डेले आफूमाथि उठेका प्रश्नलाई लिएर सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्ताबेजमा एउटा उमेर रहेको दाबी गर्नुभएको थियो ।
उपरथी पाण्डे बढुवा नभएको अवस्थामा मंसिरको दोस्रो साता अवकाश पाउनु हुने थियो । पाण्डेले राजनीनामा दिएपछि अव अर्का उपरथी अशोक सिग्देललाई बढुवाको बाटो खुलेको छ । प्रधानसेनापति प्रभुराम शर्माको ३ वर्षे कार्यकाल आगामी २०८१ भदौ २४ मा सकिँदै छ ।
प्रतिक्रिया दिनुहोस्