जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १२:५५

एनआरएनए युकेको मतगणना स्थगित, अध्यक्षका दुवै प्रत्यासीले लगाए यस्तो आरोप


लण्डन, भदौ २९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको मतगणना स्थगित भएको छ । निर्वाचन समितिले पत्रकार सम्मेलन गर्दै मतगणना स्थगित भएको जनाएको हो । बेजिङस्टोक, अल्डरसट र हयारोको मतदान केन्द्रमा फेरि मतदान हुनुपर्ने भन्दै निवेदन प्राप्त भएको र त्यो विषयमा चर्को विवाद भएपछि मतगणना स्थगित गर्नु परेको समितिले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डम्मर घलेले मतगणनाका लागि वातावरण नभएकाले मतगणना स्थगित गर्नु परेको बताउनुभयो । निर्वाचन समितिले तीनवटै केन्द्रका विषयमा उम्मेदवारबीच सहमति हुनुपर्ने जनाएको छ । निवेदन आएकै भरमा फेरि चुनाव हुन नसक्ने जनाउँदै निर्वाचन समितिले सामूहिक राजीनामा दिने तयारी गरेको छ ।

अध्यक्षका प्रत्यासी शेर सुनारको समूहले बेजिङस्टोकमा धाँधली भएको जनाएको छ भने पुनम गुरुङ समूहले अल्डरसट र हयारो बुथमा धाँधली भएको आरोप लगाएको छ । यी दुवै समूहले निवेदन दर्ता गरेपछि मतगणना स्थगित गर्नु परेको समितिले जनाएको छ ।