काठमाडौं, कात्तिक २४ । सर्वोच्च अदालतले रौटहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहको पद रिक्त गर्नेमा निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतको यो आदेशसँगै तत्कालका लागि साहको पद पुनर्बहाली भएको छ ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भई प्रमुख बन्नुभएकी साहले पार्टी छाडेपछि उहाँमाथि कारबाही भएको थियो । निर्वाचन आयोगले एमालेको कारबाहीअनुसार साहलाई पदमुक्त गरेको थियो । सो निर्णयविरुद्ध साह सर्वोच्च अदालत जानुभएको थियो ।
अदालतले साहको मुद्दामा कारण देखाउ आदेश पनि जारी गरेको छ । एमालेबाट निर्वाचित भएकी साह एमाले छाडेर स्वतन्त्र उठेका पति प्रभु साहको आम जनता पार्टीमा संलग्न भएपछि आयोगले पदमुक्त गर्ने निर्णय गत असोज ३० गते गरेको थियो ।
सर्वोच्चको अन्तरिम आदेशमा दलत्याग गरेको नदेखिएको र अर्को दलको सदस्यता लिएको आधिकारिक आधार प्रमाण पेस नभएको भन्दै पुनर्बहाली गरेको हो ।














प्रतिक्रिया दिनुहोस्