जनता टाइम्स

२५ कार्तिक २०८०, शनिबार ०८:२९

राहतको उचित ब्यवस्था नहुँदा चिसोको कारण गयो भूकम्पमा जोगिएका २ जनाको ज्यान


जाजरकोट, कात्तिक २५ । सरकारले राहत बितरणमा उचित ध्यान नदिँदा जाजरकोटमा चिसोले दुई जनाको ज्यान गएको छ । समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाउनु परेको हो ।

चिसोले शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले जानकारी दिनुभयो । स्थानीय अगुवा प्रेमबहादुर रावलका अनुसार दमका दीर्घरोगी गोपालबहादुरका चार छोरा नै मजदुरीका लागि भारत छन । एक्लै बस्दै आएका गोपाल भूकम्पले घर चर्किएपछि त्रिपालको ओत लागेर बस्दै आउनु भएको थियो ।

वडाध्यक्ष पन्तका अनुसार वडा ४ मा ३ सय ७५ घरधुरीमध्ये झन्डै ३० ज्येष्ठ नागरिक दम, बाथरोग र मुटुरोगका बिरामी छन । त्यस्तै वडामा ३० जना सुत्केरीलाई पनि चिसो कटाउन निकै सकस भएको स्थानीयको भनाई छ । त्यसो त एकसरो लुगाको भरमा रहेका भूकम्पपीडित चिसोका कारण बिरामी पर्ने दर पनि बढिरहेको छ ।

स्थानीय तहमार्फत प्रतिपरिवार वितरण गरिएको एक-एक थान त्रिपाल र कम्बलकै भर पर्नुपरेपछि अत्यधिक चिसो थेग्न नसक्दा रुघाखोकी, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको हो । चिसोका कारण दीर्घरोगीको स्वास्थ्य अवस्था झन् बिग्रिँदै गइरहेको छ । सो क्षेत्रमा भूकम्प गएको १÷२ दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनियाको लक्षण देखिन थालिसकेको थियो ।

नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले चिसोका कारण अधिकांश भूकम्पपीडितमा विभिन्न स्वास्थ्य समस्या देखिरहेको बताउनु भयो । नगलाडमा भूकम्पले ४ हजार घर भत्किएका छन् भने करिब २ हजार १ सय घरमा क्षति पुगेको छ । त्यसमध्ये झन्डै ३ हजार परिवारलाई प्रतिपरिवार एक÷एक थान त्रिपाल र कम्बल तथा एक बोरा चामल पहिलो चरणमा वितरण गरिएको थियो ।