जनता टाइम्स

२५ कार्तिक २०८०, शनिबार १०:१५

पुराना पार्टी र गणतन्त्रमाथि तल्लो स्तरमा उत्रेर प्रश्न उठाउने दुस्साहस भइराखेको छ : प्रधानमन्त्री


काठमाडौं, कात्तिक २५। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकै तल्लो स्तरमा उत्रिएर पुराना पार्टी र गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भइरहेको भन्दै कडा चेतावनी दिनुभएको छ ।

शनिबार पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिद्वारा आयोजित पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । उहाँले लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि तल्लो स्तरमा उत्रेर प्रश्न उठाउने दुस्साहस भइराखेको बताउनु भयो ।

‘अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धि माथि, गणतन्त्र र लोकतन्त्रमाथि पनि एकथरी मान्छेहरुले बडो तल्लोस्तरमा उत्रिएर प्रश्न उठाउने दुष्साहस गरेका छन,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यति ठूलो र लामो संघर्ष र बलिदान, पार्टी पुराना र नेताहरुको विचारको योगदानबाट स्थापित संघीय गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भइरहेको छ ।’

उहाँले नयाँ पुस्तालाई गएको ७० वर्षको नेपाली जनताको विरासत र इतिहास जानकारी गराउनुपर्ने आवश्यकता समेत औंल्याउनु भयो । उहाँले प्राप्त उपलब्धिको बारेमा जनतालाई बुझाउनु पर्ने आवश्यकता झन् बढेको बताउनु भयो । उहाँले राष्ट्रिय सम्वतलाई व्यवहारमा लागू गर्ने पनि बताउनु भयो ।