जनता टाइम्स

२६ कार्तिक २०८०, आईतवार १४:५७

काठमाडौं प्रहरी प्रमुखको घोषणा : तिहारमा काठमाडौंको सुरक्षा व्यवस्था मजबुद छ, २४ सै घण्टा देउसी भैलो खेल्न पाइन्छ


काठमाडौं, कात्तिक २६ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा सुरक्षा व्यवस्था निकै मजबुत बनाइएको काठमाडौं प्रहरीले बताएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र खत्रीले तिहारका लागि बिशेष सुरक्षा योजना बनाइएको जानकारी दिनुभएको हो ।

एसएसपी खत्रीका अनुसार दसैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम, चोरी तथा लुटपाटजस्ता घटनाको सम्भावना बढी हुन्छ त्यस्ता ठाउँलाई मध्यनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ ।

’दसैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम हुन्छ वा जहाँ चोरी, लुटपाट जस्ता घटना हुन्छन् त्यस्ता ठाउँलाई मध्यनजर गरेर दसैंको जस्तै विभिन्न सुरक्षा प्रबन्ध मिलाएका छौं । सुरक्षा प्रबन्ध गर्नु नागरिक दायित्व पनि हुन्छ,’ एसएसपी थापाले भन्नुभयो ।

प्रहरीले काठमाडौं उपत्यकाको सुरक्षा प्रबन्ध मजबुद बनाउन कुनै कसर बाँकी नराखेको खत्रीले जानकारी दिए । काठमाडौंमा आफ्नो संस्कृतिअनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै सिमित समय नतोकिएको पनि उहाँले बताउनु भयो ।

प्रहरी र सुरक्षा समितिले काठमाडौंमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकी अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । ’काठमाडौंमा आफ्नो संस्कृतिअनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै समय तोकेका छैनौं । प्रहरी र सुरक्षा समितिले काठमाडौंमा २४ घण्टा सौभार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला राखेको छ । प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको छ,’ थापाले भन्नुभयो ।

काठमाडौं प्रहरी प्रमुख खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले देउसीभैलो खेली तिहार मनाउन आग्रहसमेत गर्नुभएको छ । जथाभावी पटाका पड्काउँदा आगलागी जस्ता दुर्घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न थापाले सुझाउनु भएको हो । महानगरका प्रमुख बालेन्द्र शाहले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिएको भन्ने भनाईप्रति लक्षित गर्दै काटमाडौं प्रहरी प्रमुख खत्रीले कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताउनु भयो ।

’राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी हो । चाडपर्व तथा अन्य विषयमा सुरक्षा प्रबन्ध गर्ने जिम्मा नेपाल प्रहरीले पाएको हुन्छ । सुरक्षाको लागि प्रहरीले के गर्दा नागरिक सुरक्षा प्रदान गर्न सकिन्छ भनेर प्रयास गर्छौं,’ थापाले भन्नुभयो, ’नेपाल प्रहरी यसको लागि सक्षम छ । कसैले कुनै समय तोकेर अवरोध गर्न खोज्नुभयो भने नेपाल प्रहरीको १०० र काठमाडौं प्रहरी प्रमुखलाई नै फोन गरेर जानकारी दिन सक्नुहुनेछ ।’

खत्रीले विशेष सुरक्षा योजना बनाएर देउसीभैलो खेल्नका लागि भिडभाड हुने क्षेत्रमा सामान्य अवस्थाभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।