मुस्ताङ, कात्तिक २८ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चीनले एक पक्षीयरूपमा बन्द गरेको मुस्ताङको (नेचुङ-लिग्ची) कोरलानाका ढोका आजदेखि खुला भएको छ।
प्रधानमन्त्री पुस्पकमल दाहालको चीन भ्रमणमा भएको सहमति र स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको निरन्तरको पहलमा कोरलानाका औपचारिकरूपमा खुला भएको हो। तिब्बती भूमी लिग्चीमा आयोजित उद्घाटन समारोहमा आतिसबाजीसहित नाका खुलेको सन्देश दिइएको थियो।
नाका खुला हुने भएपछि प्रदेश सरकारको जम्बो टोली कोरला पुगेको थियो। लगातार ४ वर्षदेखि बन्द रहेको नाका खुला हुने कार्यक्रममा सहभागी हुन उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका झन्डै ७ सय स्थानीय नागरिक सोमबार बिहान ८ बजेदेखि लाइनमा बसेका थिए।
नेपाली पक्षको केही ढिलाईले सीमानाका प्रस्थान अनुमति चेकजाँच र प्रस्थान गर्ने कार्यक्रम दिउँसो १२ बजेसम्म लम्बिएको थियो। नाका भिआईपी र अति विशिष्ट व्यक्तिहरुलाई मात्र सहभागी गराई सञ्चालन भएको उद्घाटन कार्यक्रम सकिएपछि बल्ल नाका सर्वसाधारणसमेतका लागि खुला गरिएको थियो।
सीमानाका प्रस्थानका लागि चीन पक्षले कडा सुरक्षा निगरानी गरेको थियो। नेपाल पक्षका स्थानीय नागरिकलाई प्रस्थान अनुमतिपत्रसहित नागरिकताको आधारमा चीन प्रवेश गराइएको थियो।
प्रतिक्रिया दिनुहोस्