काठमाडौं, कात्तिक ३० । तिहारको अवसर भन्दै जुवातास खेल्ने काठमाडौं उपत्यकाका तीन जिल्लामा १६५ जना जुवाडे पक्राउ परेका छन ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले जारी गरेको विज्ञप्तिअनुसार तिहारभर उपत्यकामा जुवा खेलेको आरोपमा १६५ जना पक्राउ परेका हुन । यो संख्या दसैं सकिएपछि अर्थात कात्तिक ११ गतेदेखि कात्तिक ३० गतेसम्मको रहेको प्रहरीले जनाएको छ ।
तास र लंगरबुर्जा खेलेको आरोपमा काठमाडौंका १२ स्थान, ललितपुरबाट २ स्थान र भक्तपुरबाट दुई स्थानमा प्रहरीले छापा मारेको थियो । जहाँबाट १३३ जनालाई पक्राउ गरी २१ लाख ७१ हजार ३३५ रुपैयाँ नगद, २० हजारको चेक र ६९ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । त्यसैगरी कौडा खेलेको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको हो ।
यसैगरी पटाकाहरू पनि प्रहरीले बरामद गरेको छ। पटाकासहित प्रहरीले ८ जनालाई नियन्त्रणमा समेत लिएको छ । त्यसैगरी आगलागीका १४ वटा घटनाहरू भएका छन । काठमाडौंमा आठ स्थान, ललितपुरमा ४ स्थान र भक्तपुरमा दुई स्थानमा आगलागी भएको थियो।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीमा लक्ष्मीपूजा गर्नेक्रममा दियोबाट सल्किएर आगलागी हुँदा ८२ वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट समग्रमा आठ करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको एसएसपी मैनालीले बताउनु भयो ।
उहाका अनुसार कात्तिक ११ गतेयता सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन । काठमाडौंमा दुर्घटना हुँदा दुई जनाको, ललितपुरमा ४ जना र भक्तपुरमा एक जनाको मृत्यु भएको छ । यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
यस्तै उपत्यकामा ३७ ठाउँमा चोरी भएको छ । जसमा संलग्न ७ जनामात्रै पक्राउ परेका छन्। काठमाडौंमा २७ लाख ७९ हजार ४४५ रुपैयाँ बराबरको, ललितपुरमा २५ लाख ३० हजार ७५० र भक्तपुरमा ५० लाख ५६ हजार बराबरको चोरी भएका छन्।
काठमाडौंमा पाँच ठाउँमा लुटपाट पनि भएका छन्। जसमा संलग्न तीन जना पक्राउ परेका छन्। यी आपराधिक घटनामा संलग्न आरोपीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले तिहारको बेला प्रभावकारी रूपमा प्रहरी परिचालन र प्रविधि समेतको प्रयोगले घटनाहरू धेरै नभएको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्