जनता टाइम्स

१ मंसिर २०८०, शुक्रबार ०७:५०

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमै तस्करले दुई गैँडा मारे


चितवन, मंसिर १ । चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको अवस्थामा भेटिएको छ ।

निकुञ्जको चपरचुली पोष्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा खाल्डो खनेर दुई वयस्क पोथी गैँडा मारिएको अवस्थामा भेटिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उक्त क्षेत्रमा दुई फरक खाल्डो खनी दुईवटा पोथी गैँडा मारिएको अवस्थामा भेटिएको छ ।

मारिएकोमध्ये एउटा १८ वर्ष र अर्को ६ वर्षको पोथी गैँडा छन् । दुबैको खाग भने काटिएको अवस्थामा रहेको छ । १८ वर्षको गैँडाको करिब १० दिन र ६ वर्षको गैँडा ३ दिनअघि मारिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । १८ वर्षको गैँडाको चाहिँ खाग काटिएको हो वा आफैं झरेको हो चिनिन नसकिने अवस्थामा भएको उहाँले बताउन भयो ।

हिजो बिहीबार निकुञ्जको गस्ती टोलीले खाग नभएको अवस्थामा दुई गैँडा भेटेको हो । तिवारीका अनुसार चितवन अनुसार बिहीबार राति नै निकुञ्जको टोलीले गैँडाको मुचुल्का उठाइसकेको छ ।

गैँडा मारिएको क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र हो । तिवारीले उक्त क्षेत्र निकुञ्ज प्रशासनको टोलीले निरन्तर गस्ती गरिरहेको स्थान पनि हो ।