जनता टाइम्स

१ मंसिर २०८०, शुक्रबार १७:००

सरकारी ढिलासुस्तीको परिणाम : भूकम्पमा बाँचेका दुई जनाको अत्यधिक चिसोले गयो ज्यान


जाजरकोट, मंसिर १ । अत्याधिक चिसोका कारण जाजरकोटका दुई जना भूकम्प प्रभावितहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह रहेको प्रहरीले जनाएको छ । भूकम्पले घरबास गुमेपछि उनीहरु त्रिपालमुनी बस्दै आएका थिए ।

कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र अत्याधिक चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो।

‘उहाँहरु दमको दिर्घरोगी हुनुहुँदो रहेछ। त्रिपालमुनि बस्ने हुँदा अत्याधिक चिसोले च्यापेपछि मृत्यु भएको पाइएको छ,’अध्यक्ष गिरीले भन्नुभयो ।सरकारले समयमै उचित राहतको प्रबन्ध गर्न नसक्दाको परिणाम भूकम्पपीडितले ज्यान गुमाउनु परेको हो । यसअघि पनि भूकम्कमा बाँचेका दुई जना भूकम्पपीडितको चिसोकै कारण ज्यान गइसकेको छ ।

जाजरकोटमा भूकम्पपछि ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र जेष्ठ नागरिक निकै प्रभावित भएका छन् ।

बारेकोटको माथिल्लो भागमा हिउँदा हिउँ पर्ने भएकाले चिसो अत्याधिक बढ्दै गएको छ । गत साता नलगाड नगरपालिका–४ मा पनि चिसोका कारण दुई जना दीर्घरोगीको मृत्यु भएको थियो ।