भक्तपुर, मंसिर १ । सडकमा ट्यांकरले हानेर एक जनाको ज्यान लिएको बिरोधमा भक्तपुरको बाखामा स्थानीयबासिन्दाले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।
बिहीबार साँझ लोकन्थलीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ ठुलो सिरुवारी घर भई सूर्यबिनायक नगरपालिका ३ बालकोट बस्ने बर्ष ४१ को हरिशरण पुरीको ज्यान गएपछि आफन्त र स्थानीयबासिन्दाले सडक अवरुद्ध गरेका हुन् ।
कोटेश्वरबाट भक्तपुरतर्फ आइरहेको ना ७ ख ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशाबाट आँउदै गरेको बा ७३ प २१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक पुरीको ज्यान गएको थियो । ट्यांकर चालकको लापरबाहीले ज्यान गएको र पीडकलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयबासिन्दाले बाखामा रहेको प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
मृतकका आफन्तले ट्यांकर चालकले रक्सी खाएको हुन सक्ने भन्दै लापरबाही लुकाउन प्रहरीलाई सिन्धुपाल्चोकका नेताहरुले दबाब दिइरहेको बताएका छन ।
मृतकका आफन्तले ट्यांकर धनी माओवादी नेता अग्नी सापकोटा, माधव सापकोटा, चौतारा साँगाचोकका मेयर कृष्ण सापकोटाका नातेदार रहेको दाबीसमेत गरेका छन । ट्यांकर चालक सिन्धुपाल्चोक बलेफी गाँउपालिका–२ बस्ने बर्ष ४५ को तुलबहादुर माझी रहेका छन । माझीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्