जनता टाइम्स

२ मंसिर २०८०, शनिबार १८:५१

मंसिर ७ को प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न र कसैमाथि जाइनलाग्न अध्यक्ष ओलीको निर्देशन


काठमाडौं, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते हुने पार्टीको युवा–विद्यार्थीको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न र कसैमाथि जाइ नलाग्न निर्देशन दिनुभएको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रले आज पार्टी कार्यालय च्यासलमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले निषेधित क्षेत्र नतोड्न र सरकारले प्रदर्शनका लागि कुनै स्थल तोक्यो भने त्यहीँ मात्र प्रदर्शन गर्न निर्देशन दिनुभएको हो ।

‘एउटा कुरा म साथीहरुलाई भन्न चाहन्छु, हामी निषेधित क्षेत्र तोड्दैनौं । निषेधाज्ञा तोड्दैनौं, कुनै समय त्यस्तो आउन सक्छ भविश्यमा,’ ओलीले भन्नुभयो, ‘आन्दोलनका क्रममा के हुन्छ त्यो बेग्लै कुरा हो । आज निषेधाज्ञा तोडिदैन, सरकारले स्थल विशेष हामीलाई तोक्यो भने हामी त्यही स्थल विशेषमा केन्द्रित हुन सक्छौं । जुन रुट सरकारले भन्छ त्यो रुटमा हामी चल्न सक्छौं, अहिले अवज्ञा गरेर जानपर्ने खालको स्थिति होइन ।’

अध्यक्ष ओलीले प्रदर्शनमा सकेसम्म राता टोपी लगाएर र हरेकले पार्टीको झण्डा बोक्नु राम्रो हुने बताउनु भयो । प्रदर्शनमा कसैप्रति जाइ नलाग्न र संयमित हुन पनि उहाँले निर्देशन दिनुभयो ।

‘हामी कसैसँग जाइलाग्ने नीति लिँदैनौं । हाम्रो अत्यन्तै संयमित ढंगले तर अलि जोशिलो, आक्रामक होइन, हामी कुनै ताडफोड गर्दैनौं । तोडफोड नगरी, आक्रामक नभई जोशिलो प्रदर्शन यसपल्ट गर्छौं । आफ्नो सुरक्षा आफैं गर्छौं । अरु धेरै भर पर्दैनौं, त्यो कुरा हामीले बुझ्याछौं’, ओलीले भन्नुभयो । मंसिर ७ गते एमालेले युवा र विद्यार्थीको प्रदर्शन राखेको छ ।