काठमाडौं, मंसिर ३ । नेकपा एमालेले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्पपीडितको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले आज बिज्ञप्ति जारी गरी यस्तो बताउनु भएको हो । गौतमले बिज्ञप्तिमा सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद् घटना भएको उल्लेख गर्नुभएको छ ।
जाजरकोटमा चिसोका कारण हालसम्म १० जना भूकम्पपीडितको ज्यान गएको छ । यसरी मृत्यू हुनेहरुमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ कि ४८ वर्षीय पम्फा रावल, बारेकोट गाउँपालिका वडा नं बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरकहादुर विक, जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरीनगरपालिका वडा नं ४ तल्याउनका केशव भडेल हुनुहुन्छ ।
‘हाम्रो पार्टी समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न जोडदार माग गर्दछ,’ एमाले प्रचार प्रमुख गौतमले जारी गर्नुभएको बिज्ञिप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्