जनता टाइम्स

४ मंसिर २०८०, सोमबार १३:४८

टिकटकमाथि प्रतिबन्धबिरुद्ध दायर रिटको सुनवाई स्थगित, यस्तो त कारण


काठमाडौं, मंसिर ४ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजको सुनुवाई रोकिएको छ । न्यायाधीश डा. कुमार चुडालको इजलासमा परेको रिट आज हेर्न नभ्याइने भएपछि सुनुवाइ रोकिएको हो ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटसहित १० वटा रिटमा आजदेखि सुनुवाइ तोकिएको थियो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दायर भएका छन । सवै रिटको सुनुवाई एकसाथ गर्ने भन्दै चुडालको इजलासमा तोकिएकोमा आज हेर्न नभ्याइनेमा राखिएको छ ।

सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । नियमन गर्नुको साटो प्रतिबन्ध लगाएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

न्यायाधीश चुडालको संयुक्त र एकल इजलास रहेकोमा एकल इजलासमा टिकटकको रिटको सुनुवाई तोकिएको थियो । सुनुवाईको छैटौं नम्बरदेखि रहेको सो रिट आज हेर्न नभ्याइने सूचीमा राखिएको छ ।