जनता टाइम्स

५ मंसिर २०८०, मंगलवार ०८:२७

कोठामै मृत अवस्थामा भेटिए दाजुभाइ


दाङ, मंसिर ५ । दाङमा एकै घरका दाजुभाइ मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा डेरा लिएर कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र ३० वर्षीय टेकबहादुर बस्नेत मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रशाद पोखरेलले बताउनुभयो । मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ ।

आज शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ । घटनाको अनुसन्धान अघि बढाइएको छ ।