जनता टाइम्स

७ पुष २०८०, शनिबार १३:३३

स्वास्थ्य क्षेत्रको विकासमा सरकारको विशेष जोड


कर्णाली, ७ पुस । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासमा विशेष जोड दिएको बताउनुभयो । ब्याक टु लाइफ नामक संस्थाको सहयोग, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानवअधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका–७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा आज आयोजित ‘एकदिने हृदय रोग’ निःशुल्क शिविरको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मानव जीवनका लागि स्वास्थ्य महत्वपूर्ण विषय हो । स्वस्थ नागरिक उत्पादनले समृद्ध समाज बन्छ । तल्लो तहमा स्वास्थ्य सेवा पुग्नेगरी संरचनाको निर्माण तथा विकासमा सरकारले ध्यान दिएको छ ।’ उपप्रधान तथा रक्षामन्त्रीले ब्याक टु लाइफ संस्था र सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र कर्णालीका विकट जिल्लामा पुगेर मुटुरोगजस्तो संवेदनशील उपचार सेवा निःशुल्क प्रवाह गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले ०७३ देखि निर्माण सुरु गरिएको ५० श्ययाको मेहलकुना अस्पताल अहिलेसम्म निर्माण पूरा नभएकामा सम्बन्धित निकायलाई अविलम्ब काम सक्न निर्देशन दिनुभयो । ब्याक टु लाइफका निमित्त देशीय निर्देशक डिकेन्द्रलाल ढकालले कर्णालीका नागरिकले सहजै प्राप्त गर्न नसक्ने मुटुरोगको उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा. चन्द्रमणि अधिकारीले मुटुरोगीहरुको निःशुल्क उपचार गरिने जटिल रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने बताउनुभयो । मेहलकुना अस्पतालका प्रमुख डा सोजन सापकोटाले काठमाडौँ पुगेर उपचार गर्नसक्ने अवस्था नभएका मुटुरोगीहरुलाई केन्द्रले ठूलो सहयोग पु¥याएको बताउनुभयो ।