मुगु १८ पुस । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको चारजनाको सामुहिक हत्यामा संलग्न अपराधीलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न संयन्त्रबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै जिल्ला समन्वय समिति मुगुले सम्मान गरेको छ । आज एक कार्यक्रमका बीच अनुसन्धानमा खटिएको प्रहरी टोली र प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापालगायत अन्य प्रहरीलाई पनि सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयसहित १० जनालाई सम्मान गरेको हो । जसमा प्रहरी निरीक्षक प्रकाश सिंह कार्की, प्रहरी निरीक्षक भुपेन्द्र कुमार बुढाथोकी, प्रहरी नायव निरीक्षक भानदेव जोसी, प्रहरी सहायक निरीक्षक देवेन्द्र चन्द, प्रहरी जवान दिपक बुढा, चन्द्र रावत, खेमबहादुर थापा, सुस्मिता हमाल र प्रहरी सहायक हवल्दार हस्तबहादुर बुढालाई जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख कार्कीले भने, सुक्ष्म ढंगबाट गई छिटोछरितो, शान्ति र स्थानीय जनतामैत्री भएर सामूहिक हत्याको अनुसन्धानमा खटिइ हत्याको कारण र हत्यारा पत्ता लगाउन सफल भएको भन्दै सम्मान गरिएको बताउनुभयो ।
गत महिना कार्तिक १० गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँका स्थानीयहरुले दुई दिनदेखि एक घरमा ताला लागेको, घर परिवार कोही बाहिर नदेखिएको खबर गरेलगतै प्रहरी नायव उपरीक्षक थापाको नेतृत्वमा मुन्दु गाउँमा पुगेको प्रहरी टोलीले बन्द ढोका खोल्दा एक आमासहित ३ छोराछोरीको विभत्स हत्या गरेर घर बाहिर ताला लगाएको फेला पारेको थियो ।
घटनाको अनुसन्धान बाँकेमा रहेको कर्णाली प्रदेश प्रहरी, कर्णाली प्रदेश प्रहरी सुर्खेत कर्णाली प्रदेश केनाइ शाखा, केन्द्रीय अनुसन्धान व्युरो र मुगु प्रहरी टोलिले अनुसन्धान गरेको थियो । मुन्दु सामूहिक हत्यामा २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा र ५ महिने छोरा रहर बोहोराको हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्