जनता टाइम्स

५ आश्विन २०७६, आईतवार ०८:००

एनआरएनएको उपाध्यक्षमा अफ्रिकाबाट हिक्मत थापाले गरे उम्मेद्वारी घोषणा


नाइजेरिया, असोज ५ । गैरआबासीय नेपाली संघ (एनआरएनए) को आसन्न अन्तर्राष्ट्रिय समितिको निर्बाचनमा बर्तमान कोषाध्यक्ष हिक्मत थापाले अन्तरास्ट्रिय कार्यसमितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सन २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरी सस्थापक अध्यक्ष बन्नुभएका थापा, सन २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष, सन २०११-२०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५-२०१९ दुई कार्यकाल अन्तरास्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दै हुनुहुन्छ । नेपालीहरु भर्खरै पुग्न थालेको र सानो संख्यामा रहेका अफ्रिकाका सोह्र मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको निकै सक्रियता रहेको थियो । नेपालको कुटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौं नेपालीको घरफिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भुमिका खेल्दै आउनुभएको छ ।

अफ्रिकामा कम संख्यामा एनआरएन सदस्यहरु रहे पनि भुकम्प र अन्य दैबी प्रकोपमा उल्लेख रुपमा अफ्रिकाका एनसीसीहरुबाट नेपालमा एनआरएनए मार्फत उल्लेख सहयोग थापाको नेतृत्वमा जुटेने गरेको छ । त्यस्तै विभिन्न जिल्लाहरुमा एनआरएनएको नेपाल परियोजना मार्फत अफ्रिकाका एनसीसीहरुबाट सहयोग जुटाएका छन । गत भुकम्प पछि आफू कार्यरत सस्थाबाट भुकम्प पीडितका राहतका लागि थापाले एक मिलियन अमेरिकी डलरको नगद सहयोग नेपाल सरकारलाई हस्तान्तरण गर्नुभउको थियो । बिगत दुई कार्यकाल कोषाध्यक्ष रहदा पहिलो कार्यकाल मुलत एनआरएन भवन र भुकम्प राहतको कोष संकलन, बाढी, हुरी पीडित राहात संकलनको ब्यबस्थापन गर्नुभएका थापाको दोश्रो कार्यकाल मुलत लाप्राक बस्ती, भवन र शन्खमुल गार्डेन निर्माणमा केन्द्रित रह्यो ।

एनआरएनएलाई संसार भरी रहेका सबै पेशा, ब्यबसाय र भुगोलमा रहेका प्रबाशी नेपालीहरुको साझा र अपनत्व हुने सस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने थापा बताउनु हुन्छ । उपाध्यक्षमा निर्बाचित भएपछि सस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने, बिशेषत खाडी, मलेसिया र अफ्रिकामा रहेका नेपालीहरुको भलाई र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्बाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापाले जनताटाइम्सलाई बताउनु भयो । समाजसेवा र साहित्यमा बिशेष रुची राख्नुहुने थापा बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्दै आउनुभएको छ ।