जनता टाइम्स

५ आश्विन २०७६, आईतवार ०८:००

दसैंका लागि खुल्यो अग्रिम टिकट बुकिङ, यसरी लिन सकिन्छ टिकट


काठमाडौं, असोज ५

दसैंका लागि आइतबार (असोज ५ गते)देखि अग्रिम बस टिकट बुकिङ खुल्ला भएको छ । दसैं मनाउन घर जानेका लागि यातायात व्यवसायीहरुले आजबाट बुकिङ खुल्ला गरेका हुन् ।

दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने यातायात व्यवस्था विभागले जनाएको छ । यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन । आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरू भएको हो । अग्रिम टिकट नयाँबसपार्क, कलंकी, कोटेश्वर, गौशाला र बालाजुलगायतका स्थानबाट खुला गरिएका छन् । नागरिक सहायताको लागि विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

यसैबीच दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ । सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् ।

चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे गृहकार्य भइरहेको जानकारी दिनुभयो ।