जनता टाइम्स

३ कार्तिक २०८३, मंगलबार १६:०७

वृद्धदम्पतीमाथि लुटपाटदेखि नक्कली सुनको धन्दासम्म, रामेछाप प्रहरीको अनुसन्धाबाट खुले अनेक घटना


रामेछाप, कात्तिक ३ । वृद्धदम्पतीलाई घरमै बन्धक बनाएर लुटपाट गर्ने, नशालु पदार्थ खुवाएर सुनका गहना चोरी गर्ने र फरार प्रतिवादी पक्राउ गर्नेसम्मका घटनामा रामेछाप प्रहरीले असोज महिनामा अनुसन्धान तथा कारबाही अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार एक महिनाको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका २६ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार असोजमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै चोरीका छन्। चोरीका १२, भवितव्य ज्यानका चार, झुन्डिएर मृत्युका तीन, लागूऔषध सेवनका दुई र बाल यौन दुरुपयोगका दुई मुद्दा दर्ता भएका छन्। जबर्जस्ती करणी, ठगी तथा आपराधिक विश्वासघात र अभद्र व्यवहारका एक–एक मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो।

दर्ता भएका मुद्दामा संलग्न रहेको आरोपमा १४ जना प्रतिवादी पक्राउ परेका छन् भने दुई जना फरार रहेको प्रहरीले जनाएको छ। अपराध अनुसन्धानसँगै पुराना फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने कामलाई पनि प्रहरीले तीव्रता दिएको छ।

रामेछापमा अनुसन्धानका क्रममा अघि बढाइएको एउटा गम्भीर घटना खाँडादेवी गाउँपालिका–२ मझुवाको हो। गत असार १८ गते राति ८५ वर्षीय वृद्ध र ८६ वर्षीया वृद्धा घरमा सुतिरहेका बेला तीन जनाको समूहले ढोका फुटाएर प्रवेश गरेको थियो। उनीहरूको हातमुख बाँधेर, आँखामा पट्टी लगाई ज्यान मार्ने धम्की दिँदै गहना र नगद लुटिएको प्रहरीको विवरणमा उल्लेख छ।

उक्त लुटपाट तथा रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फोडेर रकम चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूलाई भक्तपुरका विभिन्न स्थानबाट सुनचाँदीका गहना र नगदसहित असोज २० गते पक्राउ गरिएको प्रहरी निरीक्षक राउतले जानकारी दिनुभयो।

अनुसन्धानपछि जिल्ला अदालत रामेछापको आदेशअनुसार पशुपति श्रेष्ठ, दीर्घराज मोक्तान र सुमन जर्घा मगरलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। पिताम्बर गहतराज र गुणराज विश्वकर्मासँग जनही ५० हजार रुपैयाँ धरौटी माग गरी तारेखमा राखिएको प्रहरीले जनाएको छ।

वृद्ध महिलालाई लक्षित गरी नशालु पदार्थ खुवाएर बेहोस बनाउने र सक्कली सुनका गहना चोरी गरी नक्कली गहना लगाइदिने गरेको आरोपमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ। मन्थली नगरपालिका–६ कुनौरीकी ५४ वर्षीया विभा माझीमाथि भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले प्रविधिको प्रयोग गरी आरोपितहरूलाई पक्राउ गरेको जनाएको छ। प्रहरीको विवरणअनुसार रामेछाप र दोलखाका वृद्ध महिलालाई लक्षित गरी भएका घटनामा छ जना पीडित रहेको खुलेको छ।

यस घटनामा अदालतको आदेशअनुसार मुख्य प्रतिवादी मैया कार्कीबाट चार लाख ५० हजार रुपैयाँ,  चाेरीकाे सुन किन्ने विश्वराम विश्वकर्माबाट एक लाख रुपैयाँ तथा अन्य दुई प्रतिवादीबाट क्रमशः २५ हजार र २० हजार रुपैयाँ धरौटी माग गरी तारेखमा राखिएको प्रहरीले जनाएको छ।

त्यस्तै उमाकुण्ड गाउँपालिका–१ लाछेवरमा दुई नाबालिका छोरीसँग बस्दै आएकी महिलामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा फरार रहेका फुर्छिरी थामीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई असोज ५ गते पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउपछि अदालतमा पेस गरिएका थामीलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

असोज महिनामा प्रहरीले अपराध अनुसन्धानसँगै फैसला कार्यान्वयनमा पनि कारबाही अघि बढाएको छ। फैसला कार्यान्वयनका क्रममा १० जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट सात वर्ष १० महिना २७ दिन कैद र ११ लाख ७१ हजार रुपैयाँ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लागूऔषधसम्बन्धी दुई मुद्दा दर्ता गरी दुई जनालाई पक्राउ गरिएको छ। एक जनाबाट ३० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा उम्रिएका गाँजाका बोट नष्ट गर्ने क्रममा तीन रोपनी क्षेत्रफलमा रहेका ५० वटा बोट फँडानी गरिएको विवरणमा उल्लेख छ।

 त्यस्तै, असोज २२ गते प्रहरीले ४० लिटर अवैध मदिरा नियन्त्रणमा लिएको जनाएको छ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा चार वटा सवारीसाधन नियन्त्रणमा लिई एक लाख पाँच हजार रुपैयाँ जरिवाना गराएर आवश्यक कारबाहीका लागि पठाइएको प्रहरीको विवरणमा उल्लेख छ।

अपराध नियन्त्रण र अनुसन्धानसँगै प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। असोज महिनामा सञ्चालन गरिएका ३७ वटा कार्यक्रममा एक हजार ६७३ जना सहभागी भएका थिए। तीमध्ये ८७६ जना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक राउतका अनुसार अघिल्लो महिनाको तुलनामा असोजमा मुद्दा दर्ताको सङ्ख्या घटेको छ। जिल्लामा शान्ति सुरक्षा कायम गर्न नियमित गस्ती, चेकिङ र अपराध नियन्त्रणका गतिविधिलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो।