जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १३:४०

एनआरएनए यूरोप क्षेत्रीय संयोजकमा सन्तोष भट्टराईको उम्मेद्वारी घोषणा


काठमाडौं, असोज ६ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसी) को युरोप संयोजक पदमा सन्तोशकुमार भट्टराईले उम्मेद्वारी घोषणा गर्नुभएको छ । पन्ध्र बर्षदेखि गैरआवासीय नेपाली संघमा सक्रिय रही विभिन्न जिम्मेवारीमा रहेर सामाजिक योगदान गरिरहनु भएका जर्मनीका पूर्व अन्तराष्ट्रिय संमन्वय परिषदका सदस्य तथा सामाजिक अभियन्ता भट्टराईले आगामी कार्यकाल २०१९–२०२१ का लागि यूरोप संयोजक पदमा उम्मेद्वारीदिने निर्णय लिनुभएको हो ।

सन २००५ देखि संघमा आबद्ध रहनुभएका भट्टराईले संघको अन्तराष्ट्रिय संमन्वय परिषद सदस्य, नेपाली नागरिकताको निरन्तरता कार्यदलको सदस्य, लाप्रक पुनर्निर्माण कार्यदलको क्षेत्रीय संयोजक, महाभूकम्पमा संघको तर्फबाट गरिएको राहत बितरण कार्यक्रमको २ जिल्लाको संयोजन गरिसक्नु भएको छ । यसैगरी नेपाल पर्यटन बोर्डको जर्मनीको जनसम्पर्क प्रतिनिधी, राष्ट्रिय निर्वाचनहरूमा निर्वाचन आयूक्त तथा एनसिसि निर्वाचनहरूमा पर्यवेक्षक लगायतको भूमिका निर्वाह गरिसक्नु भएका भट्टराई एनआरएनए माझ काममा अब्बल मानिनु हुन्छ ।

संस्थागत काम र सामूहिक नेतृत्वलाई पहिलो प्रथमिकतामा राख्ने भट्टराई यूरोपभित्र भएका थुप्रै सवालमा काम गर्नुपर्ने आवश्यकता औल्याउनु हुन्छ । भट्टराई अउपेयर, आप्रवाशन, ईन्ट्रिगेशन, दोस्रो पुस्ता, पर्यटनको प्रबर्धन, संयुक्त लगाानी र लगानीहरूको ब्यवसायिक ब्यवस्थापन जस्ता विषयहरूमा काम गर्ने अठोटका साथ आफ्नो उम्मेद्वारी पेश गरेको बताउनु हुन्छ ।

भविष्यमा हुने यूरोप क्षेत्रीय बैठकहरूमा यी विषयहरूमा विशेष छलफल गरेर काम गर्ने र सबै राष्ट्रिय समन्वय परिषदहरूलाई पनि कार्यदल वनाएर काम गर्ने ब्यवस्था तयार गर्ने अठोट भट्टराईको छ । भट्टराई धेरै अग्रज तथा एनआरएन अभियन्ताहरूको सकारात्मक सुझाव र ब्यक्त अभिमतको सम्मान गर्दै, संस्थाको गरिमालाई बोध गरेर नै यूरोप क्षेत्रीय संयोजकको पदमा आफ्नो उम्मेद्वारी दिएको बताउनु हुन्छ ।