जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार २०:५०

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ


काठमाडौं, २५ बैशाख । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिनुभएको छ । यो त्यही ठाउँ हो जहाँ रुसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर तृतीय र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो । शपथपछि पुटिनले भन्नुभयो,‘हामी अझ बलियो बन्नेछौँ। हामीलाई शत्रु ठानेका देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउनेछौँ । जनताको विश्वास कायम राख्न सक्दो प्रयास गर्नेछु ।’

रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाउनुभएको छ । अमेरिका, बेलायत र धेरै युरोपेली देशहरूले रुसमा पुटिनको शपथ ग्रहण समारोह बहिष्कार गर्नुभएको थियो । पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको सपथ लिनुभएको थियो । त्यसयता उहाँ सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसक्नुभएको छ ।