जनता टाइम्स

३० बैशाख २०८१, आईतवार १४:५६

‘नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन’


काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गर्नुभएको छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद् प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र सोमबार बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढङ्गले अघि बढ्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भीरतापूर्वक छलफल गरेको पनि स्पष्ट पार्नुभयो । आज राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सोमबार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘मैले त्यही ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ ।

अन्तिम निष्कर्षमा नपुगेपनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढङ्गले अगाडि बढ्ने वातावरण बन्छ ।’ यता, प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री उपप्रधानमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो ।