काठमाडौं, जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्दा राष्ट्रिय एकता र आपसी सद्भावले उचाइ हासिल गर्ने बताउनु भएको छ ।
विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्नुपर्ने बताउनु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न जनताको सकारात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ ।
‘नेपालको पवित्र भूमि लुम्बिनीमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ। बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्दछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न आम नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास लिएको छु।’
नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग महत्वपूर्ण रहेको उहाँको भनाई छ। प्रचण्डले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धले गरेको त्याग, लिएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको बताउनु भयो।
‘बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन्। मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन,’ शुभकामना सन्देशमा भनिएको छ, ‘आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ।’
प्रधानमन्त्री दाहालले यस महत्वपूर्ण दिनले सबैलाई बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भातृत्व भावनालाई आत्मसात गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ।
प्रतिक्रिया दिनुहोस्