कालीकोट, १० जेठ । कालीकोट जिल्लाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको बोलेरो वडा नं ६ को हाउडी खोलामा दुर्घटना भएको हो । घाइते हुनेहरू सबै वडा नं ६ हाउडीका २२ वर्षीय विष्णु शाही, १८ वर्षीया पूजा शाही, २३ वर्षीय देउके आचार्य, ३३ वर्षीय ऐन खत्री, ६० वर्षीय तीर्थ खत्री, अन्दाजी ४० वर्षीया महिला र चालक दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका २५ वर्षीय दीपेन्द्र चौलागाईँ हुनुहुन्छ ।
दुर्घटनामा परेका अधिकांशको अवस्था गम्भीर रहेको वडा नं. ६ का पूर्व वडा अध्यक्ष कर्णबहादुर केसीले जानकारी दिनुभयो । उहाँले घाइतेहरूको एक विद्यालयमा राखेर प्राथमिक उपचार भइरहेको र हेलिकोप्टरको पर्खाइमा रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कालीकोटले घटनास्थलमा आफ्नो टोली भर्खर मात्रै पुगेको र घाइतेको उद्धारमा लागेकाले घटनाको विवरण लिन नपाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्