जनता टाइम्स

१० जेष्ठ २०८१, बिहीबार १४:४३

एमाले अध्यक्ष ओलीको प्रश्न : एक जना मिडिया हाउसका मान्छे पक्राउ पर्दा डेमोक्रेसी कसरी खतरामा परिहाल्यो ?


झापा, जेठ १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक जना मिडिया आउसका सञ्चालक पक्राउ गर्दैमा प्रजातन्त्र खतरामा पर्यो भन्ने कुरा दुनियाँका लागि मजाकको बिषय भएको टिप्पणी गर्नुभएको हो । गृहजिल्ला झापामा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने पनि प्रष्ट पार्नुभयो । शिरोहिया कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ गरेको कारण डेमोक्रेसी खतरामा पर्यो भनेर कुतर्क गर्न नहुनेतर्फ ओलीको संकेत थियो ।

‘पक्राउको बिषय किन यो समाचार प्रकाशित गर्यो, किन यस्तो बोल्यो भन्ने त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने होला,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अनि कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा केही नहुने, अनेक हुँदा कराउन नपर्ने, हल्लिन नपर्ने, डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त एक जना मिडिया हाउसका मान्छे गिरफ्दार हुँदा ?,’

उहाँले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उहाँलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताउनु भयो ।

‘सिरोहियाको पक्राउ सही हो वा गलत हो भन्नेबारे र उहाँलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे म कुनै टिप्पणी गर्दिन,’ ओलीले भन्नुभयो, ‘तर उहाँ समाचारको कारण नभई अन्य कारणमै पक्राउ पर्दा लोकतन्त्र खतरामा पर्दैन । सञ्चारका हकहरु खोसिदैन । कसैले पनि यस्तो गलत व्याख्या गर्न हुन्न ।’