जनता टाइम्स

११ जेष्ठ २०८१, शुक्रबार ११:३०

कांग्रेसको कुरा सुन्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव


काठमाडौं, जेठ ११ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग सम्बोधन गरी मिल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको छ ।

शीतलनिवास भेटन आउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति पौडेलले यस्तो सुझाव दिनुभएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपतिसँग नियमित भेटको क्रममा शितलनिवास जानुभएको थियो ।

भेटमा राष्ट्रपतिले कांग्रेससँगको दूरी बढाउने काम प्रधानमन्त्रीको हितमा नभएको भन्दै मिल्न सुझाएको स्रोतको भनाई छ । भेटवार्तामा सदनको गतिरोध हटाउनेलगायतका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

साथै प्रधानमन्त्रीले आफूले संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी गराउनु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति नबनाइ संसदको कामकारवाही चल्न नदिने बताउँदै आएको छ । सोही बिषयमा चासो राख्दै राष्ट्रपतिले कांग्रेसको कुरा सुन्नोस भन्दै ध्यानाकर्षण र सुझाव दिनुभएको थियो ।