काठमाडौं, जेठ ११ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इञ्जियिनरले आत्महत्या गरेका छन । बिशेष अदालतले दोषी ठहर गरेको ३ दिनपछि सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका हुन ।
बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्याङमा पोखरेल झुन्डिएको अवस्थामा मृत भेटिएका हुन । विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।
५७ वर्षीय पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए । प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला परेको जनाएको छ । सुसाइड नोटमा के कुरा लेखिएको छ भन्नेबारे प्रहरीले जानकारी नदिए पनि अन्य कसैलाई दोष लगाएको नपाइएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्