जनता टाइम्स

११ जेष्ठ २०८१, शुक्रबार २०:०६

कैशाल शिरोहियालाई सरकारले होइन, अदालतको आदेशले पक्राउ गरिएको हो : एमाले सचिव अर्याल


पाल्पा, जेठ ११ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले सहकारीको रकम हिनामिनाको संस्थागत छानबिन हुनुपर्ने बताउनु भएको छ । एमाले पाल्पाको १० औं जिल्ला अधिवेशन उदघाटन समारोहमा बोल्दै सचिव अर्यालले यस्तो धारणा राख्नुभएको हो ।

सचिव अर्यालले व्यक्तिको नामै किटान गरेर छानबिन नभई संस्थागत छानबिन हुनुपर्ने बताउनु भयो । व्यक्ति गौण भएको र संस्थागत छानबिन गरेमात्र निकास निस्कने उहाँको भनाई छ । अर्यालले जोसुकै व्यक्तिको खल्तीमा छानबिन गर्ने नभई संस्थागत छानबिन नै हुनुपर्नेमा जोड दिनुभयो । ‘कसैको नाम नै किटान गरेर भन्दा पनि संस्थागत छानबिन हुनुपर्छ । संस्थागत छानबिन गर्न सके सहकारी पीडितले न्याय पाउनेछन,’ अर्यालले भन्नुभयो ।

उहाँले सरकारमा भएका बेलामा सहकारीपीडितका विषयमा केही पनि नबाल्ने कांग्रेस विभिन्न खालका अनावश्यक विवाद निकाल्दै सरकारमा जाने बाटो खोजिरहेको धारणा समेत राख्नुभयो । सचिव अर्यालले थप्नुभयो, ‘यो मुलुक बनाउन कांग्रेस कहिल्यै अघि बढेन । आफू पनि नबनाउने र अरुलाई पनि बनाउन नदिने कांग्रेस नै हो ।’ कांग्रेसले सरकारमा हुँदा भ्रष्टाचार अनियमितता केही नदेख्ने तर सत्ताबाट बाहिर आएपछि सबै देख्ने गरेको तथ्यसमेत राख्नुभयो ।

जनतालाई अनावश्यक विषयमा उचाल्ने र दिग्भ्रमित पार्दै सत्तामा जान कांग्रेसले खोजीरहेको उहाँको भनाई छ । ‘पछिल्लो समय सरकारभन्दा बाहिर बस्दाको पीडा कांग्रेसले पोखेको छ । सहकारीका विषयमा पनि एमाले अनियमितताको छानबिन गरेर पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्न तयार नै छ,’ अर्यालले भन्नुभयो ।

पछिल्लो समयमा दोहोरो नागरिकता लिएका कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई देखाएर कांग्रेसले व्यक्तिवादी राजनीति गरेको भनाईसमेत अर्यालको छ । ‘सरकारले होइन, अदालतले सिरोहियालाई खोजेको हो । यसमा सरकारको कुनै हात छैन,’ अर्यालले भन्नुभयो ।