जनता टाइम्स

१४ जेष्ठ २०८१, सोमबार १५:०६

एमाले धनकुटाको अध्यक्षमा शिव आङ्ला बिजयी, पदाधिकारीमा पनि क्लिनस्वीप


धनकुटा, जेठ १४ । नेकपा एमाले धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बू बिजयी हुनुभएको छ । आठौं जिल्ला अधिवेशनको क्रममा भएको निर्वाचनमा ३१४ मत प्राप्त गरी आङ्ला बिजयी हुनुभएको हो ।

उहाँसँग प्रतिस्पर्धा गर्नुभएका निरेन तामाङ्गले २०७ मत प्राप्त गर्नुभएको छ । अधिवेशनबाट उपाध्यक्षमा चिन्तन तामाङ्ग, सचिवमा पर्शुराम नेपाल, उपसचिवमा नैन विश्वकर्मा र तुलसी राई निर्वाचित भएका हुनुभएको छ ।

यस्तै उपाध्यक्षमा चिन्तन तामाङ निर्वाचित हुनुभएको छ । धनकुटा नगरपालिकाका प्रमुखसमेत रहनुभएका तामाङले २९४ मत प्राप्त गरी जीत निकाल्दा प्रतिस्पर्धी मनोज राईले २०९ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा २९६ मत प्राप्त गर्दै पर्शुराम नेपाल निर्वाचित हुनुभएको छ । यस्तै निकटतम प्रतिस्पर्धी शेरबहादुर लिम्बूले १९६ मत मात्र प्राप्त गर्नुभएको छ ।

उपसचिव खुलातर्फ नैन विश्वकर्माले २९३ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गोपाल भट्टराईले १८७ मत पाउनु भयो । यस्तै उपसचिव महिलातर्फ तुलसी राईले २६५ मतसहित विजयी बन्दा निकटम प्रतिद्वन्द्धी मनकुमारी तितुङ (तारा) ले २२६ मत प्राप्त गर्नुभएको छ ।

अधिवेशनमा नेतृत्व र पदाधिकारीका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचनमा पदाधिकारीसहित अधिकांश सदस्यसमेत लिम्बूको प्यानलबाट विजयी भएको छ । लेखा समितिका ७ जनासहित ५५ सदस्य सर्वसम्मत चयन भएपछि पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भएको थियो । निर्वाचनमा ५ सय ४८ प्रतिनिधि सहभागी थिए ।

लालकिल्ला बनाउने खानेपानी मन्त्री राजेन्द्र राईको गृहजिल्ला धनकुटामा स्थायी कमिटी सदस्य शेरधन राईले फरक उम्मेदवार खडा गर्नुभएपछि चुनावमा प्रतिस्पर्धा शेरधन समुह बढारिएको हो । राजेन्द्रले निर्वाचित शिव आङ्लाको समूहलाई साथ दिनुभएको थिया भने निरेन तामाङको समूहलाई शेरधन राईको समर्थन रहेको थियो ।