जनता टाइम्स

१६ जेष्ठ २०८१, बुधबार १४:४०

विद्यार्थी-व्यवसायी र श्रम स्वीकृति लिएका कामदारलाई रुस जान अनुमति दिने सरकारको निर्णय


काठमाडौं, जेठ १६ । सरकारले रुसमा व्यवसाय गर्दै आएका व्यवसायी, श्रम स्वीकृति लिएका कामदार र बिश्वबिद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीलाई फर्कन सहजीकरण गर्ने निर्णय गरेको छ ।

परराष्ट मन्त्रालयले रुस–युक्रेन द्वन्द्वका कारण रुसबाट फर्किएका नेपालीलाई लक्षित गरी उनीहरूको सहज फिर्तीका लागि यस्तो निर्णय गरेको हो । रुसमा ब्यवसाय गरिरहेका व्यवसायी, विद्यार्थी र श्रम स्वीकृति लिएर काम गर्दै आएका नेपालीहरू फर्कन चाहे उनीहरूलाई यात्रा अनुमति प्रमाणपत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय परराष्ट्र मन्त्रालयले गरेको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार उनीहरूका लागि कन्सुलर सेवा विभागले ’नो अब्जेक्सन लेटर’ दिनेछ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गत साता सो सम्बन्धमा छलफल गर्न सरोकारवाला मन्त्रालय र सचिवहरूको बैठकले रुसमा विभिन्न व्यवसाय गर्दै आएका व्यवसायी, श्रम स्वीकृति लिएका कामदार र अध्ययन पूरा गर्न फर्किने विद्यार्थीका लागि अनुमति दिने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयले निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयलाई पत्र पठाइसकेको छ ।