जनता टाइम्स

१६ जेष्ठ २०८१, बुधबार १६:०३

सर्वोच्चको परमादेशअनुसार गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता पाण्डे नियुक्त


पोखरा, जेठ १६ । गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

सर्वोच्चले सोमबार ४८ घण्टाभित्र धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएको थियो । न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर गर्दै उपधारा (३) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो । उपधारा (३) मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।

सुरेन्द्रराज पाण्डे दोस्रोपटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । गत वर्ष बैशाख १४ गते पाण्डे नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ सासंदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते राजीनामा दिएका थिए । ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ जना सांसद रहेका छन।