अमेरिका, जेठ १९ । न्यूयोर्कको १२ सदस्यीय जुरीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै आरोपहरुमा दोषी ठहर गरेको छ । दुई दिनसम्म चलेको सुनुवाइपछि जुरीले पूर्वराष्ट्रपति ट्रम्पलाई ३४ वटै आरोपमा दोषी ठहर्याएको हो ।
अमेरिकाको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रूपमा रकम दिएको आरोप ट्रम्पमाथि रहेको थियो ।
यसैगरी ट्रम्पले आफ्नो कारोबारको रेकर्डका कागजात हेरफेर गरेको, राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद् भवनमा तोडफोड गरेको लगायत आरोपहरु पनि लगाइएको थियो । सबै ३४ आरोपमा जुरीले ट्रम्पलाई दोषी ठहर्याएको हो ।
दोषी ठहर भएका ट्रम्पलाई अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा सजाय सुनाउनु हुनेछ । ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आउनु भएको छ । कोर्ट रुमबाट बाहिरिंदै ट्रम्पले आफूले कुनै गलत काम नगरेको र निर्दोष रहेको जिकिर गर्नुभयो । उहाँले आफू अन्तिमसम्म लड्ने र जित्ने दाबी पनि गर्नुभयो ।
आगामी १५ जुलाईमा रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । त्यसले औपचारिक रूपमा पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारको रूपमा ट्रम्पको नाम घोषणा गर्ने तयारी गरेको छ । तर यही बेला उहाँलाई दोषी ठहर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्