जनकपुर, जेठ १९ । मधेश प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । गठबन्धनमा असन्तुष्ट नेकपा एसका अध्यक्ष माधव नेपालले सहमति जनाउनु भएसँगै मधेशमा सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने भएको हो ।
सहमति जुटेपछि पहिलो चरणमा सरकारको नेतृत्व जनमत पार्टीले गर्नेछ । मधेशमा अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन। जसपा नेपाल विभाजन भएको केहीदिनमै मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा पर्नुभएको हो ।
उहाँले संवैधानिक व्यवस्था अनुसार जेष्ठ २३ मा विश्वासको मत लिने तयारी गरेका छन। तर त्यसअघि नै जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने सत्ता गठबन्धनका नेताहरुले बताएका छन । दुई दिन अगाडि जनमत, एमाले र माओवादीबीच जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने लिखित सहमती भएको थियो । जुन बैठकमा जनमतका अध्यक्ष डा. सीके राउत स्वयं उपस्थित हुनुहुन्थ्यो ।
तीन दलले गरेको लिखित सहमतिमा नेकपा एस र लोसपा पनि नयाँ सरकारमा सहभागी हुने उल्लेख थियो । सत्तारूढ नेकपा एसले मधेशमा नयाँ सरकार बनाउन आनाकानी गरेपछि सो पार्टीका अध्यक्ष नेपालसँग शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभयो ।
सो भेटमा अध्यक्ष नेपालले सत्ता गठबन्धनमै रहने र मधेशमा नयाँ सरकार बनाउन सहमती जनाउनु भएको थियो ।
ओली र प्रचण्ड भेट्नुअघि अध्यक्ष नेपाललाई एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादव, माओवादी मधेश संसदीय दलका नेता भरत प्रसाद साह र जनमतका मधेश संसदीय दलका नेता महेश प्रसाद यादव पनि भेटघाट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्